बेलायतको नेपालकप टी ट्वान्टी क्रिकेटमा माया क्लब लगातार तेस्रोपटक च्याम्पियन
लन्डन- बेलायतको रेडिङमा सम्पन्न नवौं पीपल नेपालकप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि माया क्रिकेट क्लबले जितेको छ।
यससंगै प्रतियोगिताका पछिल्लो तीन संस्करणमा लगातार च्याम्पियन बन्दै मायाले प्रतियोगिताको रनिङ शिल्ड कब्जा गरेको छ ।
पोखरेली मञ्च यूकेको आयोजना रहेको प्रतियोगिताको नवौं संस्करणमा यस वर्ष बेलायतभरबाट ११ टीम सहभागी थिए। तीन दिनसम्म खेलाइएको प्रतियोगिताको फाइनलमा हिमालयन क्रिकेट क्लबलाई स्तब्ध पार्दै माया लगातार तेस्रोपटक च्याम्पियन बनेको हो।
प्रतियोगिता विजेताको रुपमा माया क्रिकेट क्लबले नगद २ हजार पाउण्डसहितको पुरस्कार प्राप्त गरेको छ भने उपविजेता हिमालयन क्रिकेट क्लबले १ हजार पाउण्ड नगद पुरस्कार पाएको छ।
त्यस्तै, प्रतियोगितामा बेस्ट बलर, बेस्ट ब्याट्सम्यान र प्लेयर अफ द टुर्नामेन्ट गरी सबै तीन वटै विधाको पुरस्कार माया क्लबाट खेलेका नेपालका राष्ट्रिय क्रिकेटर अर्जुन सावदले जितेका छन्।
प्रतियोगितामा ८ विकेट तथा २ सय ३८ रनको व्यक्तिगत योगदान गरेका अर्जुनले तीन पुरस्कारसंग नगद ८ सय ५० पाउण्ड प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजेताहरुलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव एवम् नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का, पोखरेली मञ्च यूकेका अध्यक्ष पवित्र गुरुङ, प्रतियोगिता संयोजक एवम् मञ्चका निवर्तमान अध्यक्ष करम गुरुङ, संस्थापक अध्यक्ष क्या रि सीबी पुन, क्रिकेट संयोजक प्रकाश गुरुङ, विनय पुनलगायतले कप, मेडल र नगद पुरस्कार वितरण गरेका थिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल क्रिकेट संघ अध्यक्ष चतुरबहादुर चन्द र विशेष अतिथि संघका सचिव पारस खड्काले समुदायस्तरमा आयोजना हुने नेपालकप जस्ता प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान गरिरहेको बताए ।
डायस्पोरामा रहेको नेपाली खेलाडीहरुलाई प्रोत्साहनका साथै नयाँ प्रतिभा पहिचानका लागि समेत यी प्रतियोगिता आवश्यक रहेको भन्दै उनीहरुले आयोजक पोखरेली मञ्च र सबै प्रायोजक एवम् सहयोगीलाई प्रतियोगिता निरन्तर राख्न आग्रह गरे ।
मञ्चका अध्यक्ष पवित्र गुरुङले नवौं संस्करणको पीपल नेपालकप क्रिकेट सफल पार्न योगदान गर्ने सबैप्रति संस्थाको तर्फबाट आभार प्रकट गरे ।
प्रतियोगिता संयोजक एवम् मञ्चका निवर्तमान अध्यक्ष करम गुरुङले आगामी दिनमा अझै बृहद र व्यापक बनाउँदै प्रतियोगिता निरन्तर गर्ने प्रतिबद्धता गरे ।
सो अवसरमा आयोजकले प्रतियोगिताका प्रायोजक एवम् सहयोगीहरुलाई मायाको चिनोसहित सम्मान गरे ।
नवौं पीपल नेपालकप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा खुकुरी, माया, हिमालयन, नवयुवा, गोर्खा केन्ट, रमाइलो, नटिङहम गोर्खा, साथी, माया डांफे, वुल्भरह्याम्पटन वारियर र एभरेष्ट राइनोसहित ११ टीमले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिता नेपाली राष्ट्रिय टीमबाट खेलिसकेका क्रिकेटरहरु अर्जुन साउद, रिजन ढकाललगायतले पनि खेले ।
त्यस्तै, नटिङहम काउन्टीका दीपेश सापकोटासहित बेलायतकै स्थानीय लिगहरु खेल्ने कयौं उदयीमान खेलाडीहरु पनि विभिन्न टीमबाट सहभागी थिए।
नवौं पीपल नेपालकप क्रिकेट प्रतियोगिताको टाइटल स्पोन्सर पीपल ग्रुपका सूर्य गुरुङ, प्रथम पुरस्कार स्पोन्सर माया ग्रुपबाट राज पाण्डे, प्लेयर अफ द टुर्नामेन्ट स्पोन्सर एभरेष्ट तन्दुरीका दावा लामा, बेस्ट ब्याट्सम्यान पुरस्कार स्पोन्सर जेजे बिल्ड्सका जगन गुरुङ तथा बेस्ट बलर पुरस्कार स्पोन्सर वेबथ्री टेक्नोलोजीका महेन्द्र कुंवर थिए ।















Source: www.nepalilink.com
Notice Board
Our upcoming events
९ औ पिपल नेपाल कप टि-२० क्रिकेट प्रतियोगीता यहि २०२६ जुलाई ५,८ र १२ मा हुने भएको छ।
प्रतियोगीता स्थान: Reading Cricket and Hockeyclub Sonning Lane, RG4 6ST
आयोजक: Pokhareli Man...